मर्कूस 8:1-10
Nepali Bible: Easy-to-Read Version
येशूद्वारा चार हजार भन्दा अधिक मानिसलाई भोजन
(मत्ती 15:32-39)
8 अर्को एक समय येशूको साथमा धेरै मानिसहरू थिए। मानिसहरूसँग खानेकुरा केही थिएन। अनि उहाँले आफ्ना चेलाहरूलाई बोलाउनु भयो। 2 येशूले भन्नुभयो, “यी मानिसहरू प्रति मलाई अति दया लाग्छ। तीनदिनदेखि तिनहरू मसँग छन्। अनि अहिलेसम्म तिनीहरूसँग खानेकुरा केही छैन। 3 म तिनीहरूलाई भोकै तिनीहरूको घर पठाउन सक्तिन किनभने, तिनीहरू बाटामा नै बेहोश हुनेछन्। कतिजना त यहाँदेखि धेरै टाढामा बस्ने हरूछन्।”
4 येशूका चेलाहरूले भने, “तर हामी कुनै पनि शहरभन्दा टाढा छौं। यति धेरै मानिसहरूको लागि त्यत्ति धेरै रोटीहरू कहाँ पाइएला?”
5 तब येशूले तिनीहरूलाई सोध्नु भयो, “तिमीहरूसँग कतिवटा रोटीहरू छन्?”
चेलाहरूले जवाफ दिए, “हामीहरूसँग सातवटा रोटीहरू छन्।”
6 येशूले तिनीहरू सबैलाई भूइँमा बस्ने निर्देशन दिनुभयो। उहाँले सातवटा रोटीहरू लिएर परमेश्वरलाई धन्यवाद चढाउनुभयो, अनि रोटीहरू टुक्रा पार्नु भयो अनि चेलाहरू लाई ती रोटीहरू मानिसहरूलाई बाँढ्न दिनुभयो चेलाहरूले त्यसै गरे। 7 चेलाहरूसँग केही माछाहरू पनि थिए। येशूले तिनीहरूको लागि परमेश्वरलाई धन्यवाद चढाउनुभयो अनि चेलाहरूलाई ती मानिसहरूलाई बाँढ्नु भन्नु भयो।
8 सबै मानिसहरूले खाए अनि तृप्त भए। तब उब्रिएका रोटीका टुकाहरू चेलाहरूले बटुलेर सात टोकरी भरे। 9 प्रायः त्यहाँ भएका चार हजार मानिसहरूले भोजन गरे। तिनीहरूले खाइसके पछि, यशूले तिनीहरूलाई घरमा जाऊ भन्नुभयो। 10 त्यसपछि उहाँ आफ्ना चेलाहरूसँग डुङ्गामा चढेर दलमनुथाको जिल्लातिर जानुभयो।
Read full chapter© 2004, 2010 Bible League International