मर्कूस 9:2-8
Nepali Bible: Easy-to-Read Version
येशू मोशा र एलियासँग
(मत्ती 17:1-13; लूका 9:28-36)
2 छ दिनपछि येशू, पत्रुस, याकूब र यूहन्नालाई लिएर अग्लो डाँडामा जानुभयो। त्यहाँ तिनीहरू मात्र थिए। जब ती चेलाहरूले उहाँलाई हेरिरहेका थिए, त्यहाँ येशूको रूप नै बद्लियो। 3 येशूको लुगाफाटा उज्यालो अनि चम्किलो भयो। लुगाफाटा यतिसम्म उज्यालो र सेतो भए, कि पृथ्वीको कुनैपनि सेतो पार्नेले त्यति सेतो पार्न सक्तैन। 4 जब तिनीहरूले हेरिरहेका थिए दुइजना मानिसहरू हाजिर भए, अनि तिनीहरू येशूसित बात गरिरहेका थिए। ती मोशा र एलिया थिए।
5 पत्रुसले येशूलाई भने, “गुरुज्यू, हामीलाई यसबेला यहाँ भएको असल छ। हामी यहाँ तपाईंकोलागि, मोशाको लागी र एलियाको लागि पाल बनाउँछौ।” 6 के भन्नु पर्नेहो सो पत्रुसलाई थाहा भएन किनभने उनी आफैं र अरू दुइजना चेलाहरू डराएका थिए।
7 त्यसपछि बादल आएर उनीहरूलाई ढाक्यो। बादलबाट एउटा आवाज आयो, अनि भन्यो, “यो मेरो प्यारो पुत्र हो, अनि म उसलाई माया गर्छु। उसले भनेको पालन गर!”
8 अचानक जव पत्रुस, याकूब र यूहन्नाले वरिपरि हेरे तिनीहरूले त्यहाँ कसैलाई पनि देखेनन्। येशू मात्र उनीहरूसित थिए।
Read full chapter© 2004, 2010 Bible League International