मत्ती 28:1-10
Nepali Bible: Easy-to-Read Version
येशू बौरी उठेको समाचार
(मर्कूस 16:1-8; लूका 24:1-12; यूहन्ना 20:1-10)
28 विश्रामको भोलिपल्ट सप्ताहको पहिले दिन थियो। पहिलो दिनको झिसमिसे उज्यालो हुदाँ मरियम मग्दलिनि र मरियम नाम गरेकी अर्की स्त्रीहरू चिहान हेर्न गए।
2 त्यसबेला त्यहँ ठूलो भूँईंचालो गयो। स्वर्गबाट प्रभुको एउटा दूत तलतिर ओर्ले। स्वर्गदूत चिहानतर्फ गए अनि चिहानको ढुङ्गालाई पल्टाएर पर सारे। त्यसपछि उनी त्यसमाथि बसे। 3 ती स्वर्गदूत बिजुली जस्तै चम्किला थिए। उनको लुगाफाटा हिउँ जस्तो सेतो थियो। 4 ती स्वर्गदूतलाई देखेर सैनिकहरू डरले कामे अनि बेहोस भएर लडे।
5 त्यो स्वर्गदूतले भने, “तिमीहरू डराउनु पर्दैन। म जान्दछु तिमीहरू येशूलाई खोजिरहेका छौ, जसलाई क्रूसमा झूण्ड्याएर मारिएको थियो। 6 तर येशू यहाँ हुनुहुन्न। उहाँ मृत्युबाट बौरी उठ्नु भएको छ, उहाँले पहिले नै भन्नुभए जस्तै। आऊ, अनि स्थान हेर जहाँ उहाँको शरीर राखिएको थियो। 7 अनि झट्टै गएर उहाँका चेलाहरूलाई भनिदेऊ। तिनीहरूलाई भन्, ‘येशू पुनर्जीवित हुनु भएको छ। उहाँ गालीलतिर जानुभएको छ। त्यहाँ तिमीहरूको अघि नै उहाँ पुग्नु हुनेछ। त्यहाँनै उहाँलाई तिमीहरूले देख्न पाउनेछौ।’” फेरि ती स्वर्गदूतले भने, “मैले तिमीहरूलाई भनिदिएको छु।”
8 त्यसपछि ती आईमाईहरू त्यो चिहान छोडेर गए। तिनीहरू डराए, तर खुशी पनि भए। तिनीहरू उहाँका चेलाहरूलाई त्यहाँ भएको घट्नाको विषयमा सुनाउन दगुरे। 9 तर ती आईमाईहरू उहाँका चेलाहरूलाई भन्न दगुर्दै गर्दा, येशू तिनीहरूकै अघि उभिरहनु भएको थियो। येशूले भन्नुभयो, “अभिवादन छ!” ती आईमाईहरू येशूकहाँ गए। तिनीहरूले झट्ट उहाँको पाउ पक्रेर उहाँको उपासना गरे। 10 अनि येशूले तिनीहरूलाई भन्नुभयो, “डराउनु पर्दैन। जाऊ अनि मेरा भाइहरूलाई गालीलमा जान भनिदेऊ। तिनीहरूले मलाई त्यहाँ देख्न पाउनेछन्।”
Read full chapter© 2004, 2010 Bible League International